दफा २७
खानतलासीको पूर्जी जारी गर्ने
(१) बन्दीप्रत्यक्षीकरणको निवेदन उपरको कारबाहीमा तथ्यको यथार्थता यकिन गर्न अदालतले देहायको अवस्थामा खानतलासीको पूर्जी (सर्च वारेण्ट) जारी गर्न सक्नेछ:
(क) बन्दी अमानुषिक तवरबाट थुनिएको छ वा निजलाई गैरकानूनी यातना दिइएको छ भन्ने कुरा अदालतले विश्वास गर्नु पर्ने कुनै कारण भएमा, वा
(ख) अदालतको आदेशलाई छल्ने मनसायले बन्दीलाई अन्यत्र सार्ने सम्भावना भएकोले खानतलासीको आदेश जारी हुनु आवश्यक छ भनी निवेदकले अदालतलाई विश्वास हुने कुनै कारण देखाएमा, वा
(ग) यस्तै अन्य कुनै कारणबाट खानतलासीको आदेश जारी हुन आवश्यक वा उपयुक्त छ भन्ने अदालतलाई लागेमा ।
(२) उपदफा (१) बमोजिम खानतलासीको पूर्जी जारी गर्दा अदालतले बन्दी थुनामा रहेको भनिएको वा त्यस्तो आशङ्का भएको ठाउँ वा ठाउँहरूको तलासी लिई बन्दीको पत्ता लगाई उपस्थित गराउन आफ्नो मातहतको वा नेपाल सरकारको सेवामा रहेको कुनै अधिकृत वा कर्मचारीको नाममा आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश जारी गर्दा अदालतले आवश्यक वा मनासिब देखेमा त्यस्तो कर्मचारी र निवेदकलाई प्रतिनिधित्व गर्ने व्यक्ति तथा स्थानीय निकायका पदाधिकारी समेत रहेको खानतलासी टोली गठन गरी सो टोलीलाई खानतलासी गर्ने अधिकार दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम खानतलासीको आदेश प्राप्त गर्ने व्यक्ति वा टोलीले अदालतको निर्देशन बमोजिम थुनामा रहेको व्यक्तिको खोजी गर्नेछ र थुनिएको व्यक्ति फेला परेमा प्रतिवेदन सहित बन्दीलाई अविलम्ब अदालत समक्ष उपस्थित गराउनेछ ।
(४) उपनियम (२) बमोजिम खानतलासी गर्न आदेश प्राप्त गर्ने अधिकृत वा कर्मचारीले बन्दीलाई चिन्न सक्तैन भन्ने कुराको अदालतले विश्वास गर्नु पर्ने कुनै कारण भएमा अदालतले त्यस्तो पूर्जीमा तोकिएको अर्को कुनै व्यक्तिलाई त्यस्तो खानतलासी पूर्जी तामेल गराउने कार्यमा सहयोग गर्न आदेश दिन सक्नेछ ।
(५) बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रको सम्बन्धमा आवश्यक देखिए अदालतले आफै वा मातहतको अन्य कुनै अदालत मार्फत थुनाको सम्बन्धमा यथार्थ कुरा यकिन गर्न प्रमाण बुझ्न सक्नेछ ।